महोत्तरी – चैती छठ पर्वको मुख्य दिन आज मिथिलाञ्चलसहित देशका विभिन्न स्थानमा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै श्रद्धापूर्वक मनाइँदैछ। नेपाल र भारतका मिथिला क्षेत्रमा आइतबारदेखि सुरु भएको चारदिने छठ पर्वअन्तर्गत आज षष्ठी तिथिको साँझ व्रतालुहरू जलाशयमा पसेर अस्ताउँदो सूर्यको आराधना गरिरहेका छन्। महोत्तरी लगायतका क्षेत्रमा पोखरी, नदी तथा तलाउ किनारमा श्रद्धालुहरूको ठूलो भीड लागेको छ।
व्रतालुहरूले गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरिया, पेरुकिया लगायतका पकवान, फलफूल तथा विभिन्न पूजासामग्री लिएर छठ घाट पुगेका छन्। भक्ति तथा लोकगीत गाउँदै परिवारसहित घाटमा पुगेका श्रद्धालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पूजा गरिरहेका छन्। आज साँझ व्रतीहरूले पानीमा उभिएर सूर्य अस्ताउँदासम्म पूजा गर्दै अर्घ दिने परम्परा अनुसार विधिपूर्वक आराधना गरिरहेका छन्। यसअघि सोमबार ‘खरना’ विधि सम्पन्न गरिएको थियो, जसमा व्रतालुले निराहार व्रत बसेर पूजा गरेका थिए।
धार्मिक विश्वासअनुसार छठ पर्वले पारिवारिक सुख, शान्ति, समृद्धि, स्वास्थ्य लाभ तथा मनोकाङ्क्षा पूरा हुने मान्यता रहेको छ। यो पर्व सत्य, अहिंसा र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको मानिन्छ। चार दिनसम्म मनाइने यस पर्वको अन्तिम दिन भोलि बिहान पुनः घाटमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिइ समापन गरिनेछ। पहिले तराई-मधेस क्षेत्रमा मात्र सीमित रहेको यो पर्व अहिले काठमाडौँ, पोखरा, धरान, इटहरीलगायत देशका विभिन्न सहरमा पनि धूमधामका साथ मनाउन थालिएको छ।






