काठमाडौँ – नेपाल व्यापार संघको ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशन नजिकिँदै गर्दा महिला सचिव पदका लागि शुसिला चौलागाइ र शर्मिला लुइटेलले उम्मेदवारी घोषणा गर्नुभएको छ। यसले संघमा महिला सहभागिता र नेतृत्वलाई अझ सशक्त बनाउने दिशा देखाएको छ।
उम्मेदवारहरूका अनुसार महिला नेतृत्वले संघभित्र पारदर्शिता, सक्रियता र सदस्यमैत्री वातावरण स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। चौलागाइले भन्नुभयो, “महिला नेतृत्वले केवल प्रतिनिधित्व पुर्याउने मात्र होइन, संघको नीतिगत र प्रशासनिक काममा पनि ठोस योगदान दिन सक्छ। म सदस्यहरूसँग प्रत्यक्ष संवाद र समस्या समाधानमा केन्द्रित रहन्छु।”
त्यसैगरी लुइटेलले पनि महिला सदस्य र युवा व्यवसायीलाई संघमा सशक्त बनाउने योजनाहरू अघि सार्नुभएको छ। उहाँले आफ्नो उम्मेदवारीलाई सदस्य केन्द्रित नेतृत्व र पारदर्शी प्रशासनको अवसरका रूपमा प्रस्तुत गर्नुभयो।
संघमा महिला नेतृत्वलाई प्रवर्द्धन गर्दै यस्ता उम्मेदवारीहरूले युवा र महिला व्यवसायीहरूलाई सहभागी गराउने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरिएको छ। आगामी अधिवेशनले मात्र नयाँ नेतृत्व चयन गर्ने होइन, संघभित्र समावेशी नेतृत्व र सक्रिय सदस्यताको मार्गदर्शन गर्ने अवसर पनि प्रदान गर्नेछ।
नेपाल व्यापार संघको ३३ औँ साधारण सभा तथा १७ औँ अधिवेशन यहि चैत्र ७ गते शनिवार राष्ट्रिय सभा गृहमा हुने भएको छ । जसमा नयाँ कार्यसमिति समेत चयन हुनेछ । वर्तमान अध्यक्ष हरि गौतमको कार्यकाल सकिएसँगै अब नयाँ नेतृत्व चयन हुनेछ । वर्तमान अध्यक्ष हरि गौतमले पुनः नदोहरिने घोषणा गरेसँगै नयाँ नेतृत्व आउने पक्कापक्की भइसकेको छ । यस्तै अन्य पदमा पनि युवा नेतृत्वले आकांक्षा देखाएका छन् ।






