नेपाल व्यापार संघको उपाध्यक्षमा किशोरकुमार गौतमको उम्मेदवारी, यस्तो छ भावी कार्ययोजना

काठमाडौँनेपाल व्यापार संघको आगामी ३३औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशन नजिकिँदै गर्दा उपाध्यक्ष पदका लागि किशोर कुमार गौतमले उम्मेदवारी घोषणा गर्नुभएको छ। व्यवसायिक क्षेत्रको सुदृढीकरण, युवा सहभागिता विस्तार तथा संघलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित आफू उम्मेदवारीमा उत्रिएको उहाँले बताउनुभएको छ। उहाँका अनुसार वर्तमान अवस्थामा व्यापार-व्यवसाय क्षेत्र विभिन्न चुनौतीसँग जुधिरहेको छ र त्यसको समाधानका लागि सक्षम, दूरदर्शी तथा जिम्मेवार नेतृत्व आवश्यक छ।

गौतमले पछिल्लो समय देशमा देखिएको युवा नेतृत्वले परिवर्तन सम्भव छ भन्ने स्पष्ट उदाहरण प्रस्तुत गरिसकेको उल्लेख गर्दै अब युवाले केवल अवसर खोज्ने होइन, जिम्मेवारी लिन सक्ने र परिणाम दिन सक्ने क्षमता देखाउनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, “अब युवा सक्षम हुनुपर्छ र युवाले अगाडि बढ्नुपर्छ भन्ने समय आएको छ। व्यापार-व्यवसाय क्षेत्रमा पनि युवा नेतृत्वको आवश्यकता छ र त्यसका लागि म प्रतिबद्ध छु।” उहाँले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत आकांक्षा नभई युवा पुस्तालाई नेतृत्वमा स्थापित गर्ने अभियानका रूपमा प्रस्तुत गर्नुभएको छ।

आगामी योजनाबारे स्पष्ट पार्दै गौतमले सदस्य व्यवसायीहरूको क्षमता अभिवृद्धिका लागि तालिम कार्यक्रम सञ्चालन गर्ने, नीतिगत पैरवीलाई सशक्त बनाउने, निजी क्षेत्रका समस्या तथा चुनौतीहरू सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा उठाउने तथा युवा व्यवसायीलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम ल्याउने बताउनुभयो। साथै संघभित्र पारदर्शिता, जवाफदेहिता र सक्रियता अभिवृद्धि गर्दै सबै सदस्यलाई समेटेर सहकार्य र समन्वयमा आधारित नेतृत्व प्रदान गर्ने उहाँको प्रतिबद्धता छ।

नेपाल व्यापार संघको आसन्न अधिवेशनमार्फत नयाँ नेतृत्व चयन हुने तयारी भइरहेका बेला गौतमले आफूलाई परिवर्तन, ऊर्जा र सम्भावनाको प्रतिनिधि उम्मेदवारका रूपमा प्रस्तुत गर्दै सम्पूर्ण सदस्यहरूको साथ र समर्थन अपेक्षा गर्नुभएको छ। उहाँको भनाइमा, “अबको समय युवा नेतृत्वको हो, जसले सोच मात्र होइन, परिणाम दिन सक्ने क्षमता राख्छ।”

नेपाल व्यापार संघको ३३ औँ साधारण सभा तथा १७ औँ अधिवेशन यहि चैत्र ७ गते शनिवार राष्ट्रिय सभा गृहमा हुने भएको छ । जसमा नयाँ कार्यसमिति समेत चयन हुनेछ । वर्तमान अध्यक्ष हरि गौतमको कार्यकाल सकिएसँगै अब नयाँ नेतृत्व चयन हुनेछ । वर्तमान अध्यक्ष हरि गौतमले पुनः नदोहरिने घोषणा गरेसँगै नयाँ नेतृत्व आउने पक्कापक्की भइसकेको छ । यस्तै अन्य पदमा पनि युवा नेतृत्वले आकांक्षा देखाएका छन् । वर्तमान अध्यक्ष गौतमको कार्यकाल सफल भएसँगै नेपाल व्यापार संघमा सबैको चासो बनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्