ग्यास विक्रिमा कतै अनियमितता भएको देखिए सूचना दिन निगमको आग्रह

काठमाडौं – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक रूपमा सञ्चित नगर्न उपभोक्तासँग आग्रह गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुर ले नेपालमा मासिक खपतअनुसार नै ग्यास आयात भइरहेको बताउनुभयो। उहाँका अनुसार नेपालमा मासिक करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुने गर्दछ र सोही परिमाणमा हरेक महिना आयात भइरहेको छ। फागुन २६ गतेसम्म करिब ४५ हजार ५०० मेट्रिक टन ग्यास आयात भइसकेको जानकारी उहाँले दिनुभयो।

प्रवक्ता ठाकुरले भन्नुभयो, “नेपालको मासिक खपत ४५/४६ हजार मेट्रिक टन हो । हरेक महिना त्यही परिणाममा आयात भइरहेको छ । फागुन २६ गतेसम्म ४५ हजार ५०० मेट्रिक टन आयात भएको छ । घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न आग्रह गर्दछु ।”

ग्यासको बिक्री तथा वितरण सहज बनाउन निगमले सम्बन्धित उद्योगलाई निर्देशन दिइरहेको पनि उहाँले बताउनुभयो। कतै अनियमितता भएको देखिएमा सम्बन्धित निकायलाई सूचना दिनसमेत आग्रह गरिएको छ। पछिल्लो समय मध्यपूर्वमा विकसित घटनाक्रमका कारण उपभोक्ताबाट ग्यासको माग बढेपछि निगमले उद्योगहरूलाई आधा सिलिन्डर ग्यास बिक्री गर्न निर्देशन दिएको छ। सोही अनुसार ग्यास उद्योगहरूले आजदेखि ७ दशमलव १ किलो ग्यास भरेका सिलिन्डर बजारमा पठाउन सुरु गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्