काठमाडौं । नेपाल आयल निगम ले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक रूपमा सञ्चिती नगर्न आमउपभोक्तासँग आग्रह गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुर ले नेपालमा मासिक खपतअनुसार नै ग्यास आयात भइरहेको स्पष्ट पार्दै उपभोक्तालाई घरघरमा ग्यास भण्डारण गरेर जोखिम नमोल्न अनुरोध गरेका छन्। उनका अनुसार नेपालमा मासिक करिब ४५ देखि ४६ हजार मेट्रिक टन ग्यास खपत हुने गर्दछ र सोही परिमाणमा आयात भइरहेको छ। फागुन २६ गतेसम्म करिब ४५ हजार ५०० मेट्रिक टन ग्यास आयात भइसकेको उनले जानकारी दिए।
प्रवक्ता ठाकुरले ग्यासको बिक्री वितरण सहज बनाउन निगमले सम्बन्धित उद्योगलाई आवश्यक निर्देशन दिइरहेको बताए। कतै अनियमितता देखिएमा सम्बन्धित निकायलाई सूचना दिन पनि उनले आग्रह गरेका छन्।
पछिल्लो समय मध्यपूर्वी मुलुकमा विकसित परिस्थितिका कारण उपभोक्ताबाट ग्यासको माग बढेपछि निगमले उद्योगहरूलाई आधा सिलिण्डर ग्यास बिक्री गर्न निर्देशन दिएको छ। सोही अनुसार ग्यास उद्योगहरूले आजदेखि ७ दशमलव १ किलो ग्यास भरेका सिलिण्डर बजारमा पठाउन सुरु गरेका छन्।







