प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारले बुझाउन थाले चुनावी खर्च विवरण

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेकाहरूले चुनावी खर्चको विवरण बुझाउन थालेका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार तथा समानुपातिकतर्फका राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (५) बमोजिम चुनाव प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ।

पारदर्शिता कायम गर्ने उद्देश्यले निर्वाचन आयोग नेपाल ले उम्मेदवारका लागि आचारसंहिता लागू गर्दै चुनावी खर्चको विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको हो। आयोगले निर्वाचनमा सहभागी राजनीतिक दल तथा उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र सार्वजनिक गर्न निर्देशन दिइसकेको छ।

कानुनी व्यवस्था अनुसार प्रत्यक्षतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिकतर्फका राजनीतिक दलले आयोगले तोकेको ढाँचामा खर्च विवरण पेस गर्नुपर्ने हुन्छ।

तोकिएको समयभित्र खर्चको विवरण नबुझाउने, सार्वजनिक नगर्ने वा सार्वजनिक गरेको प्रमाणसहित जानकारी नदिने राजनीतिक दल तथा उम्मेदवारमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुने व्यवस्था भएकाले उनीहरूले खर्च विवरण बुझाउन थालेका हुन्।

यसअघि पनि कतिपय उम्मेदवार र राजनीतिक दलले चुनावी खर्च विवरण सार्वजनिक गरिसकेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्