निर्वाचन खर्च विवरण ३५ दिनभित्र बुझाउन आयोगको आग्रह

काठमाडौँ-  निर्वाचन आयोग नेपालले उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्चको विवरण समयमै बुझाउन आग्रह गरेको छ।आयोगले आज जारी गरेको विज्ञप्तिमा निर्वाचन सम्पन्न भएको मितिले ३५ दिनभित्र राजनीतिक दलले आयोगमा र उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश–जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी तथा खर्चको विवरण बुझाउनुपर्ने उल्लेख गरिएको छ। साथै उक्त विवरण सार्वजनिक गरेको जानकारी पनि आयोगलाई गराउन अनुरोध गरिएको छ।

आयोगका अनुसार उम्मेदवारले आफ्नो जिल्लामा रहेको प्रदेश जिल्ला निर्वाचन कार्यालयको सूचना पाटी, सम्बन्धित गाउँपालिका, नगरपालिका वा वडा कार्यालयको सूचना पाटीमा खर्च विवरण सार्वजनिक गर्नुपर्नेछ। त्यस्तै राजनीतिक दलको तर्फबाट उम्मेदवार भएका व्यक्तिले दलको कार्यालय वा वेबसाइटमार्फत समेत विवरण सार्वजनिक गर्न सक्ने व्यवस्था गरिएको छ।

यसका अतिरिक्त आमसञ्चार माध्यम-पत्रपत्रिका, रेडियो, टेलिभिजन-तथा सामाजिक सञ्जाल जस्तै फेसबुक, ट्वीटर, इन्स्टाग्राम मार्फत पनि निर्वाचन खर्च विवरण सार्वजनिक गर्न सकिने आयोगले जनाएको छ।

निर्वाचन खर्चको विवरण नबुझाउने, सार्वजनिक नगर्ने वा सार्वजनिक गरेको प्रमाणसहित आयोग तथा सम्बन्धित निर्वाचन कार्यालयमा जानकारी नदिने राजनीतिक दल तथा उम्मेदवारमाथि निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम कारबाही हुने आयोगले चेतावनी दिएको छ।

त्यस्तै निर्वाचन ऐन, २०७४ को दफा ७२ को उपदफा (४) अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको हकमा सम्बन्धित राजनीतिक दलले आयोगसमक्ष तोकिएको ढाँचामा निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी र खर्चको विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था रहेको आयोगले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्