काठमाडौँ — चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ७ महिनामा १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघ मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स ३९ दशमलव ८ प्रतिशतले वृद्धि भएको हो।
राष्ट्र बैंकका अनुसार माघ महिनामा मात्रै १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा भने १ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।
यस्तै, चालू आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीका लागि २ लाख ४५ हजार १५३ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने २ लाख २७ हजार ४२४ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा २ लाख ७४ हजार ६२२ जनाले अन्तिम श्रम स्वीकृति र १ लाख ९० हजार ८८६ जनाले पुनः श्रम स्वीकृति लिएका थिए।







