दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सोही घटनामा संलग्न अन्य चार जना फरार रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम रहेका छन् ।
घटनामा संलग्न तथा सहयोगीको भूमिका खेलेको आरोपमा फरार रहनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकी दिपिका आशिक पालकी कान्छी श्रीमती हुन् । प्रारम्भिक अनुसन्धानमा अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको विषयलाई लिएर आशिक पालले प्रहरी हवलदार घर्तीमाथि कुटपिट गरेको खुलेको छ ।
पक्राउ परेकाहरूले आशिक पाल र उनका भाइले कुटपिट गरी हत्या गरेको बयान दिएका भए पनि त्यसबारे थप परीक्षण भइरहेको प्रहरीले जनाएको छ । एसएसपी विष्टका अनुसार घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ ।
घटनापछि फरार रहेकाहरूको खोजी तीव्र बनाइएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।







