काठमाडौँ – टी- २० विश्वकपमा भारतसँग खेल्न पाकिस्तान तयार भएको छ। यसअघि भारतविरुद्धको खेल नखेल्ने निर्णय गरेको पाकिस्तान सरकारले आफ्नो अडान फेरेको हो।
अब भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल फेब्रुअरी १५ मा श्रीलंकाको कोलम्बोमा तय समयमै हुने भएको छ। यो खेललाई विश्वकपकै सबैभन्दा आकर्षक र व्यावसायिक महत्वको खेलका रूपमा हेरिन्छ।
पाकिस्तान सरकारले बहुपक्षीय छलफल र मित्र राष्ट्रहरूको आग्रहलाई ध्यानमा राख्दै राष्ट्रिय टिमलाई मैदानमा उत्रन निर्देशन दिएको जनाएको छ। आईसीसीले पनि पाकिस्तान क्रिकेट बोर्डसँगको छलफल सकारात्मक भएको र सबै सदस्य राष्ट्रहरू विश्वकप सफल बनाउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
यससँगै भारत–पाकिस्तानको खेल हुने सुनिश्चित भएपछि विश्वभरका क्रिकेट समर्थकहरू उत्साहित भएका छन्।







