नवयुवा आन्दोलनको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको म्याद २० दिन थप

काठमाडौँ – सरकारले गत भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आयोगको कार्यकाल थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो। यससँगै आयोगको म्याद तेस्रो पटक बढाइएको हो। आयोगको दोस्रो पटक थपिएको म्याद पर्सि बुधबार सकिँदैछ।

सरकारले गत असोज ५ गते विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो। तीन महिनाको कार्यादेश पाएको आयोगले समयमै काम नसकाएपछि यसअघि पनि दुई पटक म्याद थप गरिएको थियो।

यसैबीच, मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय पनि गरेको छ। संवैधानिक प्रावधानअनुसार सरकारले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने व्यवस्था छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्