काठमाडौँ – राष्ट्रियसभाले सरकारको प्रस्तावअनुसार सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ। आजको बैठकले राष्ट्रियसभामा विचाराधीन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता भएको औपचारिक घोषणा गरेको हो।
सभाका अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक फिर्ता भएको जानकारी गराउनुभयो। यसअघि विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले समितिको प्रतिवेदन सभामा पेस गर्नुभएको थियो।
उक्त विधेयक २०८२ साल भदौ १३ गते राष्ट्रियसभाबाट उत्पत्ति भई दफाबार छलफलका लागि समितिमा पठाइएको थियो। समितिमा ३५ सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए। समितिले मन्त्री, सचिव तथा सरोकारवालासँग विभिन्न चरणमा छलफलसमेत गरेको जनाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत माघ २० गते विधेयक फिर्ता लिने निर्णय गर्दै माघ २१ गते सरकारका तर्फबाट औपचारिक पत्र पठाएको थियो।
यसैबीच, आजकै बैठकले पर्यटन विधेयक पनि सर्वसम्मत रूपमा पारित गरेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो। उक्त विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गत वैशाख ५ गते दर्ता गराउनुभएको थियो।







