झापा । झापामा पछिल्लो समय सवारी दुर्घटनाका घटना बढ्दै गएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार माघ १ देखि २५ गतेसम्म भएका विभिन्न दुर्घटनामा १८ जनाको मृत्यु भएको छ ।
आइतबार अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा भएको ट्याक्टर दुर्घटनामा सहचालकको ज्यान गएको छ । बालुवा बोकेर गइरहेको ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेर १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका अर्जुनधारा–३ का ४५ वर्षीय राजन बाँस्कोटाको उपचारका क्रममा आइतबार मृत्यु भएको छ । उनी माघ २१ गते गरुवा चोकमा पैदल हिँडिरहेका बेला स्कुटीको ठक्करबाट घाइते भएका थिए ।
यसअघि दमकमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको थियो भने माघ १ गते मात्रै तीन जनाले ज्यान गुमाएका थिए । जिल्लामा लगातार सवारी दुर्घटनाबाट मानवीय क्षति भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।







