रोमाञ्चक खेलमा इङ्ल्यान्डसँग नेपाल ४ रनले पराजित

काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इङ्ल्यान्डसँग ४ रनले पराजित भएको छ । भारतको मुम्बईस्थित वानखेडे रंगशालामा भएको खेलमा नेपाल लक्ष्य नजिक पुगे पनि जित निकाल्न सकेन ।

टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । १८५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा १० रन आवश्यक रहेको अवस्थामा खेल निकै रोमाञ्चक बनेको थियो । तर सेट ब्याटर लोकेश बम क्रिजमा रहे पनि नेपाल जितबाट टाढियो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात गरेका थिए । तर चौथो ओभरमा आसिफ शेख आउट भए भने छैटौँ ओभरमा कुशल भुर्तेल पनि आउट भए । भुर्तेलले १७ बलमा ४ चौका र १ छक्कासहित २९ रन बनाए ।

ओपनरहरू आउट भएपछि कप्तान रोहितकुमार पौडेल र उपकप्तान दीपेन्द्र सिंह ऐरीले इनिङ्स सम्हाले । दुवैले राम्रो साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याएका थिए । तर दीपेन्द्र ४४ रन बनाएर आउट भए । उनले एक छक्का र चार चौका प्रहार गर्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटरको कीर्तिमान समेत बनाए ।

कप्तान रोहितले ३४ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३९ रन बनाए । लोकेश बम ३९ रनमा अविजित रहे । उनले दुई छक्का र चार चौका प्रहार गरे । आरिफ शेख १० रन बनाएर आउट भए ।

इङ्ल्यान्डका लागि लियम डसनले दुई विकेट लिए भने लुक वुड, जोफ्रा आर्चर, विल ज्याक्स र साम करनले एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डको सुरुवात कमजोर रहेको थियो । दोस्रो ओभरमा फिल साल्ट आउट हुँदा टोलीको स्कोर ५ रन मात्रै थियो । त्यसपछि जोस बटलरले राम्रो इनिङ्स खेले पनि पाँचौँ ओभरमा १७ बलमा २६ रन बनाएर आउट भए ।

इङ्ल्यान्डका ज्याकब बेथेल र कप्तान ह्यारी ब्रुकले अर्धशतक प्रहार गर्दै टोलीलाई बलियो योगफलतर्फ डोर्‍याए । बेथेलले चार चौका र चार छक्कासहित सर्वाधिक ५५ रन बनाए भने ब्रुकले चार चौका र तीन छक्कासहित ५३ रन जोडे । विल ज्याक्स ३९ रनमा अविजित रहे । उनले एक चौका र चार छक्का प्रहार गरे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्