काठमाडौँ । आज सुदूरपश्चिम प्रदेशबाहेक देशका अधिकांश प्रदेशमा मौसम आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा आंशिक बादल लागेको छ ।
आज बिहान तराईका केही स्थानमा हुस्सु लागेको छ भने दिउँसोसम्म तराईका क्षेत्रमा हुस्सु र कुहिरो कायमै रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ ।
त्यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविद्ले बताएका छन् । देशका अन्य भू–भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
यसैबीच आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम हिजोको तुलनामा बढेको छ । बिहान पौने ६ बजे काठमाडौँको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो काठमाडौँको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस रहेको थियो ।








