पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, पश्चिम र मध्य नेपालमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बन्दै गएपछि देशका विभिन्न भागमा मौसम बदली भएको छ । हिजोदेखि पश्चिमी भेगका केही स्थानमा फाट्टफुट्ट वर्षा र हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज यो प्रणाली पश्चिम क्षेत्रका उच्च हिमाली तथा पहाडी भू–भागमा फैलिँदै जानेछ भने भोलि मध्य भेगसम्म प्रभाव विस्तार हुने अनुमान छ । अघिल्लो हप्ताको मङ्गलवार र बुधवार आएको प्रणालीपछि एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय भएको हो ।

मौसमविद्हरूका अनुसार यसपालिको प्रणाली अघिल्लो बुधवारजत्तिको बलियो नभए पनि पश्चिम नेपालमा चिसो बढिसकेको र केही स्थानमा हिमपात भइरहेको अवस्थामा मध्यमसम्म वर्षा तथा हिमपात गराउन सक्नेछ । पश्चिमदेखि मध्य नेपालसम्म यसको प्रभाव देखिन सक्ने अनुमान गरिएको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुने तथा अन्य क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । कोशी र बागमती प्रदेशका माथिल्लो भू–भागमा पनि आंशिक असर पर्न सक्ने भए पनि तल्लो भू–भाग, तराई र मधेश प्रदेशमा भने प्रभाव कम रहने सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा पनि भोलि राति छिटपुट वर्षा हुन सक्ने अनुमान गरिएको छ । आज तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने अन्य स्थानमा आंशिक बदली देखिएको छ ।

महाशाखाका अनुसार आज राति तराईका थोरै स्थानमा हुस्सु रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागमा साधारणतया बादल लाग्ने र अन्य भू–भागमा आंशिक बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्