काठमाडौँ- विश्व बजारमा सुनको भाउ तिब्र रूपमा घटेको छ । गएको सोमवार अन्तर्राष्ट्रिय बजारमा प्रति औंस ५ हजार अमेरिकी डलर नाघेको सुनको भाउ त्यसपछि दैनिक रूपमा बढ्दै बुधवार साढे ५ हजार डलर प्रतिऔंस सम्म पुग्यो । तर बिहिवारदेखि घट्न थालेकोमा आज ४ हजार ८ सय ९० डलर आसपासमा झरेको छ ।
सुनको भाउमा शनिवार एकै दिन आठ प्रतिशत भन्दा ठूलो गिरावट आएको छ । बीबीसीका अनुसार सुनको भाउ घट्नुको एउटा कारण अमेरिकी सङ्घीय रिजर्भ ब्याङ्कका अध्यक्षमा केभिन वार्शलाई मनोनित गर्ने विवरण सार्वजनिक हुनु हो ।
यसअघि राष्ट्रपती डोनाल्ड ट्रम्पले व्याजदर घटाउने आफ्नो इच्छा पूरा गर्ने खालका व्यक्ति नियुक्त गर्ने चर्चा चलेसँगै भाउ एकाएक बढेको थियो । तर यो बिषयमा समझदार व्यक्ति केभिन वार्श नियुक्त हुने चर्चासँगै डलर बलियो बनेको छ भने सुनको भाउ पनि उच्च दरमा घटेको छ ।
यस अघि सुनको भाउ बढ्नुमा मुख्यतया अमेरिकी राष्ट्रपती ट्रम्पकै गतिविधि जिम्मेवार थिए । अरू देशमाथी ट्रम्प प्रशासनले लगाएको भन्सार कर वा त्यसको धम्की, ग्रिनल्याण्ड विवाद, अरू देश विरुद्ध युद्धको त्रास लगायतका कारण लगानीकर्ताहरु सुरक्षित माध्यमय सुनमा झुम्मिदा भाउ बढेको हो ।
भाउ केही घटे पनि जारी भू–राजनीतिक तनाव, ट्यारिफ, थप ट्यारिफ लगाउने ट्रम्पका चेतावनीहरू अनि विश्वभरि भइरहेका द्वन्द्वका कारण बहुमूल्य धातु सुनको मूल्य अझै पनि गएको वर्षको यसै समयको तुलनामा धेरै माथि छ ।
सुनको सबैभन्दा ठूलो आकर्षणमध्ये एउटा यसको दुर्लभ उपलब्धता पनि हो । विश्वभरका सबैजसो संस्कृतीसँग पनि जोडिएको सुनको भाउ अब धेरै घट्नुको साटो बढ्नै नै निश्चित भएपनि जुनसुकै बेला तीब्र दरमा घट्न पनि सक्ने देखाएको छ ।







