कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार हेरफेर गरेको छ। हिजो बसेको पार्टी सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर-१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर उक्त निर्णय उल्ट्याउँदै पार्टीले दुवै उम्मेदवारलाई ब्याक गरी नयाँ उम्मेदवारलाई टिकट दिएको हो।
पार्टीको पछिल्लो निर्णयअनुसार बझाङमा ऐन महर र कञ्चनपुर-१ मा तारालामा तामाङले एमालेको टिकट पाएका छन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा ऐन महर कांग्रेस, माओवादी र नेकपासहितको गठबन्धनका उम्मेदवारविरुद्ध प्रतिस्पर्धा गर्दै ९ सय ९८ मतको झिनो अन्तरले पराजित भएका थिए। एमालेका अनुसार बझाङमा ऐन महर र कञ्चनपुर-१ मा तारालामा तामाङ दुवै क्षेत्रका लोकप्रिय तथा संगठन बलिया उम्मेदवार भएकाले उनीहरूलाई टिकट दिइएको हो।





