काठमाडौं । नेपाली कांग्रेसमा सभापति गगन थापाको नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ।
कांग्रेस नेताद्वय शेरबहादुर देउवा र पूर्णबहादुर खड्काका वारेस श्रवणकुमार श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो। सर्वोच्च अदालत प्रशासनका अनुसार रिटको प्रारम्भिक सुनुवाइ आगामी मङ्गलबार हुने तय भएको छ।
रिटमा निर्वाचन आयोगको उक्त निर्णय बदर गर्न, यही माघ ६ गतेका लागि तय गरिएको निर्वाचनका उम्मेदवार मनोनयन प्रक्रिया स्थगन गर्न तथा निर्वाचनबाट चयन हुने नयाँ कार्यसमिति अवैधानिक भएको घोषणा गर्न माग गरिएको छ।
देउवा पक्षले पार्टीको आन्तरिक विवाद समाधान नहुँदै निर्वाचन आयोगले एकतर्फी रूपमा नेतृत्वलाई मान्यता दिएको दाबी गर्दै त्यसले पार्टीको विधि, विधान र लोकतान्त्रिक अभ्यासमाथि असर पारेको जिकिर गरेको छ।





