काठमाडौं – नेपाली कांग्रेस औपचारिक रूपमा विभाजन भएसँगै गगन थापा र शेरबहादुर देउवा नेतृत्वका दुई समानान्तर केन्द्रीय कार्यसमिति आमनेसामने भएका छन् । अब पार्टीको झन्डा र चुनाव चिह्न ‘रुख’ कसले पाउने भन्ने विषयमा विवाद चर्किएको छ ।
संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेपछि र विशेष महाधिवेशन पक्षधरले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेसँगै कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निर्वाचन आयोगमा पुगेको हो । दुवै पक्ष आफू नै आधिकारिक भएको दाबी गर्दै आयोग पुगेका छन् ।
थापा पक्षले ६० प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागितामा विशेष महाधिवेशन सम्पन्न भएको र त्यसकै आधारमा नेतृत्व चयन प्रक्रिया अघि बढाइएको जानकारीसहित अस्ति मंगलबार नै निर्वाचन आयोगमा पत्र बुझाएको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न आज थप पत्र पठाउने तयारी पनि थापा पक्षले गरेको जनाएको छ ।
उता, संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठकबाट महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको निर्णयसहितको पत्र आयोगमा पठाएको छ । पत्रमा विशेष महाधिवेशन आयोजना नै नभएको र त्यससम्बन्धी कुनै दाबी आएमा त्यसलाई वैधानिक नमान्न आग्रह गरिएको छ ।
निर्वाचन आयोगले दुवै पक्षका पत्र प्राप्त भइसकेको जानकारी दिँदै राजनीतिक दलसम्बन्धी विवादमा आयोगको बैठक बसेर निर्णय गरिने जनाएको छ । माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय रहेकाले त्यसअघि नै निर्णय गर्नुपर्ने दबाब आयोगमाथि परेको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको परिच्छेद ९ को दफा ४३ अनुसार दुई वा दुईभन्दा बढी दलबीच वा एउटै दलभित्र दुई वा दुईभन्दा बढी पक्षबीच विवाद उत्पन्न भएमा त्यसको निरूपण निर्वाचन आयोगबाट हुने व्यवस्था छ । आयोगको निर्णयप्रति चित्त नबुझे अदालत जान सकिने कानुनी व्यवस्था पनि रहेको छ ।





