काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ । यो निर्णय आउँदो जनवरी २१ अर्थात् माघ ७ गतेदेखि लागू हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । निर्णयको प्रभाव दक्षिण एशियाका नेपाल, अफगानिस्तान, बंगलादेश र पाकिस्तानलगायत देशहरूमा पर्नेछ । यस्तै, ब्राजिल, कोलम्बिया, उरुग्वे जस्ता ल्याटिन अमेरिकी देशहरू, बोस्निया र अल्बानियासहितका बाल्कन मुलुक, अफ्रिका, मध्यपूर्व तथा क्यारिबियन क्षेत्रका धेरै देशका नागरिकहरू पनि यसबाट प्रभावित हुनेछन् । रोयटर्सका अनुसार प्रभावित हुने देशहरूको सूचीमा इरान, इराक, रुस, नाइजेरिया, सुडान, सिरिया, यमनलगायत ७५ देश समावेश छन् ।
अमेरिकी विदेश मन्त्रालयका उप–प्रवक्ता टोमी पिगोटले सम्भावित आप्रवासीहरू अमेरिकामा सार्वजनिक बोझ नबन्ने सुनिश्चित गर्न भिसा प्रक्रिया पुनरावलोकन गर्न लागिएको बताउनुभएको छ । उहाँका अनुसार सामाजिक सहायता तथा सरकारी सुविधामा निर्भर हुन सक्ने विदेशी नागरिकको प्रवेश रोक्नु यस निर्णयको मुख्य उद्देश्य हो । यद्यपि, यो निर्णयले पर्यटक (भिजिटर) भिसालाई भने असर नगर्ने स्पष्ट गरिएको छ । सन् २०२६ को फिफा विश्वकप र २०२८ को ओलम्पिक खेलकुद अमेरिका आयोजना गर्ने तयारीमा रहेकाले आगन्तुक भिसा प्रक्रिया निरन्तर रहने विदेश मन्त्रालयले जनाएको छ ।
डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएयता अमेरिकाले अध्यागमन नीति कडा बनाउँदै आएको छ । अवैध अध्यागमन रोक्ने वाचा गरे पनि प्रशासनले कानुनी अध्यागमनसमेत कठिन बनाएको भन्दै आलोचना बढिरहेको छ । क्याटो इन्स्टिच्युटका अध्यागमन अध्ययन निर्देशक डेभिड बियरका अनुसार यो कदमले आगामी एक वर्षमा झन्डै ३ लाख १५ हजार कानुनी आप्रवासी अमेरिका प्रवेश गर्नबाट रोकिन सक्छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार ट्रम्प कार्यकाल सुरु भएयता हालसम्म १ लाखभन्दा बढी भिसा रद्द भइसकेका छन् ।





