तेहरान/काठमाडौं । स्वतन्त्रताको माग गर्दै इरानमा सरकारविरुद्ध चलिरहेको जनआन्दोलनमाथि सत्ता पक्षको दमन चर्किँदै गएपछि त्यसको विरोधमा विश्वभर ऐक्यबद्धता प्रदर्शन सुरु भएको छ। मूल्यवृद्धि र बेरोजगारीका कारण आक्रान्त बनेका इरानी व्यवसायीहरूले गत डिसेम्बर २८ देखि थालेको आन्दोलन तेस्रो सातामा प्रवेश गर्दै देशव्यापी बनेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार सरकारले आन्दोलन नियन्त्रण गर्न देशभर इन्टरनेट र टेलिफोन सेवा बन्द गर्दै कडा दमन गरिरहेको छ। अमेरिकास्थित मानवअधिकार अभियन्ता समाचार एजेन्सी (एचआरएएनए) का अनुसार आइतबारसम्म कम्तीमा ५ सय ३८ जनाको मृत्यु भएको छ भने १० हजार ६ सयभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।
आन्दोलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गर्दै इरानी सरकारविरुद्ध सैन्य हस्तक्षेप गर्न सक्ने चेतावनी दिएपछि यो विषय अन्तर्राष्ट्रिय रूपमा थप चर्किएको छ। ट्रम्पको चेतावनीपछि इरानले पनि अमेरिका र इजरायलका सैन्य अखडामा आक्रमण गर्न सक्ने धम्की दिएको थियो। यद्यपि, सोमबार इरानका विदेशमन्त्री अब्बास अराग्चीले अमेरिका सँग संवादका लागि इरान तयार रहेको बताएका छन्।
यसैबीच, इरानमा भइरहेको दमनको विरोधमा पेरिस, बर्लिन, लन्डन, हेग, टोकियो, अकल्यान्ड र अमेरिकाका विभिन्न सहरमा प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले इस्लामिक गणतन्त्रको विरोध गर्दै स्वतन्त्रता र राजनीतिक परिवर्तनको माग गरेका छन्। केही स्थानमा १९७९ पूर्वको राजतन्त्रकालीन झन्डा समेत प्रदर्शन गरिएको छ।
इंटरनेट अनुगमन संस्था ‘नेटब्लक्स’का अनुसार इरानमा ८४ घण्टाभन्दा बढी समयदेखि राष्ट्रव्यापी इन्टरनेट अवरुद्ध छ। मानवअधिकार संस्थाहरूले आन्दोलनकारीमाथि भइरहेको दमन र मानवीय क्षति लुकाउन सरकारले सञ्चार अवरोध गरेको आरोप लगाएका छन्।
आर्थिक सुधारको मागबाट सुरु भएको आन्दोलन अहिले सत्ता परिवर्तन र तानाशाहीको अन्त्यतर्फ केन्द्रित हुँदै गएको छ। यस घटनाक्रमले मध्यपूर्वमा नयाँ राजनीतिक संकटको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।






