काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिनादेखि नेपाली कांग्रेस ‘कोमा’को अवस्थामा रहेको टिप्पणी गरेका छन् । आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको लामो समयदेखिको गतिरोध र निष्क्रियताप्रति संकेत गर्दै यस्तो बताएका हुन् । चन्दले चार महिनासम्म थलिएको पार्टीलाई महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका अभियानकर्ताहरूले नयाँ प्राण भरेको दाबी गरे ।
‘झन्डै चार महिना नेपाली कांग्रेस कोमामा थियो,’ उनले भने, ‘चार महिनापछि कोमामा रहेको कांग्रेसलाई प्राणवायु दिएर जीवन्त बनाउने साहस जसले गर्नुभयो, म ती सबैलाई सम्मान गर्न चाहन्छु ।’ देशको इतिहासमा अभिभावक दलको भूमिका निर्वाह गर्दै आएको कांग्रेस पछिल्लो समय दिशाहीन अवस्थामा पुगेको उल्लेख गर्दै उनले विशेष महाधिवेशनमार्फत पार्टी पुनः सही दिशातर्फ अघि बढ्न थालेको बताए । अब कांग्रेस फेरि देशको असली अभिभावक पार्टीको भूमिकामा फर्कने विश्वाससमेत उनले व्यक्त गरे ।
चन्दले पार्टीलाई पुनर्जीवन दिन महत्वपूर्ण भूमिका खेलेको भन्दै दुवै महामन्त्री र पार्टी सुदृढीकरण अभियानमा सक्रिय अभियन्ताहरूको खुलेर प्रशंसा गरे । ‘इतिहासमा यो देशलाई अभिभावकत्व दिएको पार्टीलाई यहाँसम्म पुनर्जीवनतर्फ ल्याउनुहुने आदरणीय दुवै महामन्त्री र अभियानकर्ताहरूलाई म विशेष रूपमा सम्झन चाहन्छु,’ उनले भने, ‘अब कांग्रेस फेरि देशको असली अभिभावक पार्टी बन्दैछ ।’






