काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको राजनीतिक भविष्य संकटमा परेको टिप्पणी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता प्रयास असफल भएपछि घिसिङ ‘न घरको न घाटको’ अवस्थामा पुगेको बस्नेतको दाबी छ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले रवि लामिछानेको भरोसामा पर्दा घिसिङले मन्त्री पद र समानुपातिक उम्मेदवार बन्ने अवसर दुवै गुमाएको उल्लेख गरेका छन्। उनले रवि लामिछानेको राजनीतिलाई ‘माकुराको जालो’ सँग तुलना गर्दै त्यसमा परेपछि सजिलै उम्किन नसकिने बताएका छन्।
बस्नेतले नेकपा एमाले र नेपाली कांग्रेसजस्ता पुराना दलहरूलाई ‘चरा’ को संज्ञा दिँदै उनीहरूले यस्ता जालो तोड्न सक्ने सामर्थ्य राख्ने तर कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहजस्ता पात्रहरू ‘पुतली’ जस्तै कमजोर भएको टिप्पणी गरेका छन्। अन्तर्राष्ट्रिय शक्तिले बुनेको रवि लामिछानेको जालोमा परेर कुलमान घिसिङ अन्धकारतर्फ धकेलिएको उनको तर्क छ।
‘अस्थायी मन्त्रीको पद केही महिनाका लागि आयो, तर त्यसको मूल्यमा राजनीतिक भविष्य नै समाप्त भयो,’ बस्नेतले लेखेका छन्। उनले कुलमानको अवस्था देखेपछि अब काठमाडौँका मेयर बालेन शाहको पालो आउने चेतावनीसमेत दिएका छन्। बालेन पनि रविको जालोमा पर्ने दिन धेरै टाढा नरहेको उनको दाबी छ।
पार्टी एकताको नाममा रवि लामिछानेले कुलमान घिसिङलाई प्रयोग गरेर बिचल्लीमा पारेको र समानुपातिक उम्मेदवार दर्ता गर्ने समयसमेत घर्किएको बस्नेतको जिकिर छ। सामाजिक सञ्जालमा चर्चित यस्ता पात्रहरू अन्ततः राजनीतिक रूपमा सफल हुन नसक्ने संकेत गर्दै उनले स्थापित दलहरूको शक्ति नै नेपालको वास्तविक तागत भएको दाबी गरेका छन्।






