काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम हुने भएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना हुन लागेको विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा दिइएको थियो। तर देउवाले उक्त निमन्त्रणा अस्वीकार गरेका छन्। संस्थापन पक्षले विशेष महाधिवेशनलाई मान्यता नदिँदै आएको छ। उनीहरूले आजकै मितिमा जिल्ला सभापति र युवाहरूको अलग भेला बोलाएका छन्।
आज उद्घाटन कार्यक्रम सम्पन्न भएपछि विशेष महाधिवेशनको बन्द सत्र सुरु हुनेछ। बन्द सत्रको सभापतित्व विशेष महाधिवेशनको पक्षमा खुलेका महाधिवेशन प्रतिनिधिहरूमध्येका जेष्ठ सदस्यले गर्ने तय भएको छ। तर कसले सभापतित्व गर्ने भन्ने टुंगो भने अझै नलागेको विशेष महाधिवेशन व्यवस्थापन समिति सचिवालय प्रमुख मनोजमणि आचार्यले जानकारी दिए।
विशेष महाधिवेशनको सचिवालयका अनुसार पहिलो विशेष महाधिवेशनका प्रतिनिधिसमेत रहेका ओमकार श्रेष्ठ र पूर्वउपसभापति गोपालमान श्रेष्ठमध्ये एक जनाले बन्द सत्रको सभापतित्व गर्ने सम्भावना छ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी पार्टी विधानको धारा १७(२) बमोजिम विशेष महाधिवेशनको माग गरेका हुन्।
आचार्यका अनुसार २०१४ सालमा मोरङमा भएको विशेष महाधिवेशनको उद्घाटन तत्कालीन मोरङ जिल्ला सभापति गिरिजाप्रसाद कोइरालाले गरेका थिए। सोही अभ्यासअनुसार यस पटक काठमाडौं जिल्ला सभापतिले उद्घाटन कार्यक्रमको सभापतित्व गर्नेछन्।
विशेष महाधिवेशन सोमबारसम्म चल्नेछ। महाधिवेशनका लागि बाहिर जिल्लाबाट आएका प्रतिनिधिहरू शनिबार नै काठमाडौं आइपुगेका छन्। उद्घाटनअघि विभिन्न स्थानबाट जुलुस निकाल्ने कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ।






