काठमाडौं – उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आफूले कुनै ठूलो पदको बार्गेनिङ नगरेको दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले अन्तिम समयसम्म आफूले पार्टीको साधारण सदस्य बन्ने प्रस्ताव राख्दा समेत १२ दिनसम्म निर्णय नगरी होल्ड गरेर राखिएको आरोप लगाए।
“म आफैं एउटा उपाध्यक्ष, त्यो पनि वरीयतामा तल रहेर सहेर गएको थिएँ । अन्तिम चरणमा मैले एउटा प्रस्ताव पनि गरेको थिएँ,” घिसिङले भने, “म रास्वपाको साधारण सदस्य भएर बस्छु, केन्द्रीय समितिका साथीहरूलाई एड्जस्टमेन्ट गर्छु भनेको थिएँ।” उनले पछिल्लो १२ दिन आफ्नो पार्टी र पार्टी सदस्यहरूका लागि पीडादायी समय बनेको उल्लेख गरे। एकतर्फी रूपमा सहमति भंग गरिएको जानकारी आफूलाई दिइएको र त्यसपछि मिडियामा समेत त्यही रूपमा समाचार आएको उनको भनाइ छ।
“वास्तवमा यो १२ दिन हाम्रा लागि पीडादायी भयो,” घिसिङले भने, “उज्यालो समर्थक साथीहरूले धेरै पीडा भोग्नुपर्यो। रास्वपाले ठाउँठाउँमा पार्टी प्रवेश कार्यक्रम राखेर उज्यालो नेपालका साथीहरूलाई आह्वान गर्नुभयो, तर हामीले केही पनि गरेका थिएनौं।”
घिसिङले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको जानकारी दिँदै पार्टीको केन्द्रीय समिति बैठकबाट आफू अध्यक्षमा चयन भएको बताए।
“मैले आजै उज्यालो नेपाल पार्टीको सदस्यता लिएको छु। केन्द्रीय कमिटीको बैठकबाट अध्यक्षमा चयन भएको छु,” उनले भने, “उज्यालो नेपाल पार्टीलाई आगामी दिनमा मेरो नेतृत्वमा देशव्यापी रूपमा प्रभावकारी ढंगले अगाडि बढाउनेछु।”






