कांग्रेसका ४७ जिल्ला सभापति विशेष महाधिवेशनको विपक्षमा

काठमाडौं – नेपाली कांग्रेसका ४७ जिल्ला सभापतिहरूले पार्टीभित्र अन्य भेला र समारोहमा अल्मलिनु भन्दा संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि जिम्मेवार भई निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा संयुक्त विज्ञप्ति जारी गर्दै जिल्ला सभापतिहरूले आसन्न प्रतिनिधिसभा निर्वाचन, मुलुकमा विकसित राजनीतिक घटनाक्रम र सुरक्षा संवेदनशीलताजस्ता गम्भीर परिस्थितिमा कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्।

विज्ञप्तिमा मुलुक अहिले जटिल राजनीतिक अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै संविधानको संरक्षण र राजनीतिक स्थायित्वका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ। “यस गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेस अन्य भेला, समारोहमा नअल्मलिकन संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भई फागुन २१ गते हुने निर्वाचनमा सक्रिय रूपमा केन्द्रित हुन सबैमा आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ।

जिल्ला सभापतिहरूले पार्टीको १८ पुसमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट १५औँ नियमित महाधिवेशनको कार्यतालिका (वैशाख २८–३१) तय भइसकेको र नियमित अधिवेशनकै प्रक्रिया निरन्तर रहेको दाबी गरेका छन्।

साथै, विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय तहको मात्र रहेको वैधानिक व्यवस्था रहेको र हाल विशेष महाधिवेशनको उपयुक्त वातावरणसमेत नभएको उनीहरूको भनाइ छ। पार्टी विभाजनको सम्भावनालाई रोक्न केन्द्रीय कार्यसमितिले अझै एकताको प्रयास गर्दै वार्ता र संवादमार्फत् समस्या समाधानमा केन्द्रित हुनुपर्ने जिल्ला सभापतिहरूको जोड छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्