काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।
रुकुम पश्चिममा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आगामी निर्वाचन रुकुम पूर्वबाट लड्ने स्पष्ट पारेका हुन् ।
‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु,’ प्रचण्डले भने, ‘पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने कुरा तपाईंहरूले बुझिराख्नुभएको छ ।’
उनले पश्चिम रुकुमका जनताले आफूमा राखेको विश्वास र चाहनालाई पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै विकास निर्माणका कामलाई नयाँ शिराबाट अघि बढाइने बताए । साथै रुकुमका जनताका दुःख–सुखमा सधैं साथ दिने प्रतिबद्धता पनि जनाए ।
यसअघि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड कहाँबाट उम्मेदवार बन्ने भन्ने विषय सार्वजनिक भएको थिएन । उनलाई करिब आधा दर्जन जिल्लाबाट उम्मेदवार बन्न सिफारिस गरिएको थियो ।
प्रचण्डले २०६४ सालमा पहिलोपटक निर्वाचन लडेका थिए । सो वर्ष भएको संविधानसभा निर्वाचनमा उनी रोल्पा–२ र काठमाडौं–१० बाट उम्मेदवार बनेका थिए र दुवै क्षेत्रमा विजयी भएका थिए ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी काठमाडौं–१० र सिरहा–५ बाट उम्मेदवार बनेका थिए । काठमाडौंमा पराजित भए पनि सिरहाबाट विजयी बनेका थिए ।
संविधान जारी भएपछि २०७४ सालमा सम्पन्न पहिलो आम निर्वाचनमा उनी गृहजिल्ला चितवन–२ बाट उम्मेदवार बनेर विजयी भएका थिए । २०७९ सालको निर्वाचनमा भने चितवन छाडेर गोरखा–२ बाट उम्मेदवारी दिएका प्रचण्ड त्यहाँ पनि विजयी बनेका थिए ।
यसपटक उनलाई चितवन, गोरखा, कास्की, सिन्धुली, धादिङ र रुकुम पूर्वसहित आधा दर्जनभन्दा बढी जिल्लाबाट उम्मेदवार बन्न सिफारिस गरिएको थियो । पछिल्लो समय उनी रुकुम पूर्वबाट चुनाव लड्ने विषयमा सकारात्मक रहेको चर्चा चल्दै आएको थियो ।
शनिबार उनले औपचारिक रूपमा आफू आगामी प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्वबाटै लड्ने घोषणा गरेका हुन् ।






