काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पुस २७ गते आइतबारदेखि सुरु हुने पार्टीको दोस्रो विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवाले पनि सहभागी हुनुपर्ने बताएका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले पार्टीलाई मिलाएर अघि बढाउन सभापतिको उपस्थिति आवश्यक रहेको धारणा व्यक्त गरेका हुन्।
भण्डारीले ७७ वटै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनको पक्षमा रहेको दाबी गर्दै पार्टी नेतृत्वलाई समेत मिलाएर लैजानुपर्ने आवश्यकता औंल्याए। ‘७७ वटै जिल्लाका साथी हामीसित छन्, ७७ वटै जिल्लाका महाधिवेशन प्रतिनिधिहरू हाम्रा हुन्,’ उनले भने, ‘नेताहरूलाई पनि मिलाएर लैजानुपर्छ। सभापति पनि आउनुपर्छ।’
दोस्रो विशेष महाधिवेशन पक्षधरहरूले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन औपचारिक निम्तो दिने तयारी गरिरहेका छन्। विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यका अनुसार सभापति देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिनेछ। यसका लागि शनिबारसम्म चिठी पठाउने तयारी भइरहेको उनले जानकारी दिए।
त्यस्तै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पार्टीका सबै पदाधिकारी तथा सातै प्रदेशका सभापतिहरूलाई पनि औपचारिक निमन्त्रणापत्र पठाइने आचार्यले बताए।
आचार्यका अनुसार पार्टी महाधिवेशनमा प्रायः अन्य राजनीतिक दलका प्रतिनिधिहरूलाई पनि अतिथिका रूपमा बोलाउने चलन भए पनि यसपटक नियमित नभई विशेष महाधिवेशन हुन लागेकाले अन्य दलका प्रतिनिधिलाई निम्तो नदिने निर्णय गरिएको छ।
यो विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधि आयोजकका रूपमा रहनेछन्, जुन कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिमध्ये ५४ प्रतिशतभन्दा बढी रहेको आयोजक समितिको दाबी छ।
आयोजक समितिका अनुसार पुस २७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म भृकुटीमण्डपमा उद्घाटन सत्र सञ्चालन हुनेछ। उद्घाटनको दिन कुपण्डोल, सुन्धारा, रत्नपार्क र बागबजार गरी चार स्थानबाट जुलुस निकाल्दै महाधिवेशन स्थल भृकुटीमण्डप पुग्ने कार्यक्रम तय गरिएको छ।







