पार्टी फुट्न नदिने देउवाको प्रतिबद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुट्न नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेविसंघका केन्द्रीय सदस्यहरूसँग आज आफ्नै निवासमा भएको भेटघाटका क्रममा सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने धारणा राख्नुभएको हो।

नेविसंघका केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएको मतभेदका बीच एकता कायम गर्न सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र मतभेद चुलिँदै गएको र त्यसले पार्टी विभाजनसम्मको अवस्था निम्त्याउन सक्ने चर्चा भइरहेका बेला सभापति देउवाको उक्त भनाइ आएको हो।

सभापति देउवालाई भेट्न नेविसंघका केन्द्रीय सदस्यहरू धर्मराज शाही, जगतजंग बिष्ट, विनोद शाही, आशिष देवकोटा, बाबुराम भट्टराई, नवीनराज जोशी, सन्देश तामाङ, राजु पंगेनीलगायत पुगेका थिए। भेटपछि नेता आशिष देवकोटाले सभापतिले पार्टीलाई एकढिक्का बनाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता जनाएको जानकारी दिए।

उनका अनुसार भेटका क्रममा विगतमा आन्तरिक विवाद र झगडाकै कारण पार्टीले भोग्नुपरेको फुटको पीडादायी अनुभव स्मरण गराउँदै समयमै सचेत हुनुपर्ने विषय उठाइएको थियो। पार्टीभित्र बढ्दै गएको असमझदारीले संगठनात्मक एकतालाई कमजोर बनाउने खतरा रहेको भन्दै सभापतिले सक्रिय भूमिका खेल्नुपर्ने आग्रह गरिएको देवकोटाले बताए।

जवाफमा सभापति देउवाले नेपाली कांग्रेस पार्टी नफुट्ने र एकताबद्ध रहने स्पष्ट धारणा राख्नुभएको थियो। ‘वर्तमान राजनीतिक चुनौतीको सामना गर्न नेपाली कांग्रेसलाई संवाद, सहकार्य र मेलमिलापको प्रक्रियामार्फत एकढिक्का बनाएर अघि बढ्नुपर्छ,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै देवकोटाले बताए।

सभापति देउवाले पार्टीमा विभाजन हुन नदिने र सबै पक्षसँग निरन्तर संवाद गरेर समस्याको समाधान खोज्ने पनि स्पष्ट गर्नुभएको छ।

यसैबीच अधिकांश संस्थापन पक्षको विरोधका बाबजुद पुस २७ र २८ गते नेपाली कांग्रेसको विशेष महाधिवेशन हुँदैछ। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विधान कार्यान्वयनका लागि भन्दै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्