काठमाडौं – तराई/मधेशका धेरैजसो ठाउँमा आज हुस्सु लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु तथा कुहिरो लागेको छ भने बाँकी तराईका थोरै ठाउँमा पनि हुस्सु देखिएको छ।
महाशाखाले देशभर पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको जनाएको छ। यसका साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव परेको छ। यसका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ।
काठमाडौँमा आज बिहान पौने ६ बजे मापन गरिएको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस रहेको छ। हिजो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस मापन गरिएको थियो।
काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि चिकित्सकहरूले न्यानो कपडा लगाउन, तातो तथा झोलिलो खाना खान, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूको विशेष ख्याल गर्न सुझाव दिएका छन्।






