काठमाडौँ – नेपाली कांग्रेसले वर्तमान अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्नु पार्टीको हितमा नरहेको निष्कर्ष निकालेको छ। हिजो बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा संवेदनशील राजनीतिक अवस्थामा विशेष महाधिवेशनको आयोजना गर्दा पार्टी विभाजनतर्फ जान सक्ने र आगामी निर्वाचनमा समेत क्षति पुग्न सक्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा विशेष महाधिवेशन अवैधानिक तरिकाले आह्वान गरिएको दाबी गर्दै यस्तो महाधिवेशन वैधानिक हुन नसक्ने स्पष्ट पारिएको छ। नियमित महाधिवेशनको आवश्यक प्रक्रिया अघि बढिसकेको पृष्ठभूमिमा अवैधानिक ढंगबाट आह्वान गरिएको विशेष महाधिवेशनलाई वैधानिक मान्न नसकिने विज्ञप्तिमा भनिएको छ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो हस्ताक्षर फिर्ता लिन अनुरोध गर्ने निर्णय पनि गरेको छ। तर, उक्त निर्णयमा महामन्त्री गगनकुमार थापा र फरमुल्ला मन्सुरले असहमति जनाएका थिए। बैठकमा विशेष महाधिवेशन पक्षधर मानिने अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने उपस्थित थिएनन्।
कांग्रेस नेतृत्वको यस निर्णयले पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर देखिएको मतभेद अझ सतहमा आएको छ।







