काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिरामी परेको जनाउँदै केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ४ बजेका लागि बोलाइएको कार्यसम्पादन समिति बैठक अहिलेसम्म सुरु हुन सकेको छैन। महामन्त्री शर्माले केन्द्रीय कार्यालय र कार्यवाहक सभापतिलाई आफू बिरामी भएको जानकारी गराएको कांग्रेसका एक पदाधिकारीले बताएका छन्।
ती पदाधिकारीका अनुसार अर्का महामन्त्री गगन थापा पनि बैठक स्थलमा पुगेका छैनन्। महामन्त्रीद्वय शर्मा र थापाले बुधबार मात्रै पुस २७ र २८ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका थिए।
बुधबार नै २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन आह्वान गरेका थिए। तर, कांग्रेस केन्द्रीय कार्यालयले उक्त आह्वानलाई अवैधानिक ठहर गर्दै महाधिवेशन प्रतिनिधिहरूलाई उपस्थित नहुन आग्रह गरिसकेको छ।
विशेष महाधिवेशनको वैधानिकतासम्बन्धी विवाद समाधानका लागि कार्यसम्पादन समिति बैठक बोलाइएको भए पनि शीर्ष नेताहरूको अनुपस्थितिका कारण बैठक अन्योलमा परेको छ।






