काठमाडौँ – काठमाडौँको शंखरापुर नगरपालिका–३ मा हिजो बेलुकी भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।
ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमध्ये तीन जनाको पहिचान खुलेको छ । दुर्घटनामा बाँके कोहलपुरकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङकी ५१ वर्षीया इन्दिरा लिम्बु र काठमाडौँ पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ताको मृत्यु भएको हो । चौथो मृतकको नाम–ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
जर्सीपौवाबाट साँखुतर्फ वनभोज गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको बस शंखरापुरको फेदी जंगल क्षेत्रमा सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरूको शंखरापुर अस्पताल, मूलपानी नगर अस्पताल, सुष्मा कोइराला अस्पताल साँखु, नेपाल मेडिकल कलेज जोरपाटी, पिपुल्स लाइफ केयर अस्पताल तथा शिक्षण अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।






