काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जुनसुकै अवस्थामा पनि पार्टीको एकता कायम राख्ने दृढ प्रतिबद्धता व्यक्त गरेका छन् । साँच्चिकै अप्ठेरो अवस्था आए आफूले विष पिएर भए पनि पार्टी एकता जोगाउने उनले बताएका छन् । कांग्रेस नेता डा. चन्द्र भण्डारी र डा. सुनील शर्मासँगको संवादका क्रममा महामन्त्री थापाले पार्टी फुट्ने कुनै सम्भावना नरहेको दाबी गरे ।
‘तपाईंहरूलाई साक्षी राखेर देशभरका कार्यकर्ता र शुभचिन्तकलाई आश्वस्त बनाउन चाहन्छु, पार्टी फुट्दैन । कसैले चाहेर पनि पार्टी फुट्दैन,’ थापाले भने, ‘साँच्चिकै अप्ठेरो अवस्था आयो भने त बरु विष पिउँछु । बरु आफूले विष पिएर भए पनि कांग्रेसको एकता जोगाइराख्नेछु ।’
थापाले जेनजी आन्दोलनपछिको अवस्थामा नेपाली कांग्रेसमाथि युवाहरूले गम्भीर प्रश्न उठाइरहेको उल्लेख गर्दै ती प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिन पार्टी अझै चुकिरहेको स्वीकार गरे । ‘हाम्रो प्रयास भनेको पार्टीलाई सान्दर्भिक बनाइराख्ने हो,’ उनले भने, ‘नौजवानका भावना सम्बोधन गर्न सकेनौं भने पार्टी मृत बन्छ । त्यसैले हामी जीवन्त पार्टी बनाउन खोजिरहेका छौं ।’
विघटित प्रतिनिधिसभाका सदस्यसमेत रहेका तीन नेताबीच भएको छलफलमा पार्टीको आन्तरिक जीवन, नेतृत्व, जनअपेक्षा र भविष्यका चुनौतीबारे गम्भीर संवाद भएको बताइएको छ । त्यस क्रममा कांग्रेस नेता डा. चन्द्र भण्डारीले नेपाली कांग्रेसलाई देशभित्र मात्र होइन, संसारभर रहेका नेपालीहरूले चासो र चिन्ताका साथ हेरिरहेको बताए । उनले पार्टीले स्पष्ट रूपमा एकताको सन्देश दिनुपर्नेमा जोड दिए ।
‘जेनजी आन्दोलनपछि नेता–कार्यकर्ताका घर जलेका छन्, कार्यकर्ता निराश छन्,’ भण्डारीले भने, ‘युवाहरूले किन नेता परिवर्तन भएनौं भनेर प्रश्न गरिरहेका छन् । अब जनतालाई स्पष्ट सन्देश दिनुपर्छ— पार्टी हाम्रो हो, देश हाम्रो हो, जनता हाम्रा हुन् । प्रजातन्त्र हामीले ल्याएको हो, संविधान हामीले बनाएको हो । त्यसैले यसको संरक्षण र सुधारका लागि हामी अझ राम्रो पार्टी बनाउँछौं भन्ने सन्देश आवश्यक छ ।’ डा. भण्डारीले दुई महामन्त्रीले अब पार्टीको नेतृत्व गर्दैछन् भन्ने विश्वास जनतामा दिलाउन आग्रहसमेत गरे ।






