बूढीगङ्गा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन मेयरसहित १४ जनाविरुद्ध मुद्दा

काठमाडौं । बाजुराको बूढीगङ्गा नगरपालिकामा भवन निर्माण ठेक्कामा अनियमितता गरेको आरोपमा तत्कालीन मेयर दीपकविक्रम शाहसहित १४ जना व्यक्ति र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर शाहसहित प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पनाकुमारी ठकुल्ला, प्रशासकीय अधिकृत नरेन्द्र नाथ, शिक्षा अधिकृत जयराज न्यौपाने, इन्जिनियर पारस खाती, सब–इन्जिनियर गणेशराज रेग्मी, असिस्टेन्ट सब–इन्जिनियर भीमराज गिरी, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री, प्रशासन सहायक वसन्तबहादुर थापा तथा नायब प्राविधिक सहायक सिद्धराज जैसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

यस्तै, अख्तियारले धनगढीस्थित जागृति/एमके/नेपाल जेभी कम्पनी, कम्पनीका प्रबन्ध सञ्चालक पुष्कर रोकाया र कम्पनी प्रतिनिधि सुरतबहादुर शाहविरुद्ध पनि आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।

अख्तियारका अनुसार नगरपालिकाको भवन निर्माण ठेक्कामा मिलेमतो गरी ३ करोड २७ लाख ७८ हजार १ सय ७७ रुपैयाँ ६५ पैसा बराबरको रकम हिनामिना गरिएको छ। आयोगले आरोपित सबै व्यक्तिहरू र कम्पनीविरुद्ध जनही हिनामिना भएको रकम बराबरको बिगो मागदाबी गरेको छ।

नगरपालिकाको पूर्वाधार निर्माणमा व्यापक अनियमितता भएको निष्कर्षसहित दायर गरिएको यस मुद्दालाई स्थानीय तहमा भएको भ्रष्टाचारविरुद्धको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्