काठमाडौँ – सरकारले यसअघि स्थगन गरिएको तीन करोड रुपैयाँभन्दा कम बजेटका कतिपय योजनाको बजेट फुकुवा गर्न थालेको छ। गएको असोजमा तीन करोडभन्दा कम लागतका एक हजारभन्दा बढी आयोजना स्थगन गरिएको भए पनि पछिल्ला दिनहरूमा सरकारले केही आयोजना पुनः अघि बढाउन बजेट फुकुवा गरेको हो।
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार स्थगन गरिएका आयोजनामध्ये योजना बैंकमा प्रविष्ट भएका र जसमा सरकारले पहिले नै लगानी गरिसकेको अवस्थाका योजनाको बजेट क्रमशः फुकुवा गरिएको हो। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले तीनवटा शर्त पूरा गरेका कतिपय आयोजनाको रोक्का बजेट फिर्ता गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार असोजमा जारी परिपत्रमार्फत करिब एक हजार दुई सय आयोजना स्थगन गरिएको थियो। तर तीमध्ये कतिपय आयोजनाको तयारी पूरा भएको देखिएपछि बजेट फुकुवा गर्ने निर्णय गरिएको हो। दोहोरो नपरेका आयोजनालाई अघि बढ्न स्वीकृति समेत दिइसकिएको अर्थ मन्त्रालयले जनाएको छ।
सडक, पुल, खानेपानी तथा कृषि क्षेत्रसँग सम्बन्धित कतिपय रोकिएका आयोजनाहरूको बजेट फुक्का गरिएको मन्त्रालयको भनाइ छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रामहरि पोखरेलका अनुसार भौतिक मन्त्रालयअन्तर्गत करिब १० अर्ब रुपैयाँ र खानेपानी क्षेत्रका करिब २ अर्ब रुपैयाँ बराबरका आयोजना फुकुवा भइसकेका छन्। यस्तै, शहरी विकास मन्त्रालयअन्तर्गत रोक्का रहेको ६२ अर्ब रुपैयाँ बराबरका आयोजना पनि क्रमशः फुकुवा हुँदै जाने जानकारी दिइएको छ।






