सुदूरपश्चिम समाज काठमाडौंको १६औँ साधारण सभा सम्पन्न, अध्यक्षमा रामदत्त पन्त

काठमाडौं – सुदूरपश्चिम समाज काठमाडौंको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाले इ. रामदत्त पन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।

नवगठित कार्यसमितिमा अध्यक्षसहित ६ जना पदाधिकारी र सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट एक–एक जना प्रतिनिधि रहने गरी ९ जना सदस्य चयन गरिएको समाजले जनाएको छ। उपाध्यक्षमा दुर्गा भण्डारी र विसन नाथ, सचिवमा बखत बहादुर साउद, सहसचिवमा शंकरदत्त भट्ट तथा कोषाध्यक्षमा तिलक प्रसाद भट्ट चयन भएका छन्। सदस्यहरूमा विष्णुदत्त भट्ट, कमला सिंह, कमला बोहरा, राजेश विष्ट, हरिष पन्त, अर्जुन कुमार रोकाया, हर्क भाट र ब्रिन्दा साउद रहेका छन्।

समावेशी प्रतिनिधित्व र प्रदेशस्तरीय एकताको अभ्यासलाई निरन्तरता दिँदै चयन गरिएको नयाँ नेतृत्वले संस्थालाई थप सक्रिय बनाउने प्रतिबद्धता जनाएको छ। साधारण सभालाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष इ. रामदत्त पन्तले सुदूरपश्चिमको कला, संस्कृति, भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनलाई संस्थाको मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए। उनले काठमाडौंमा रहेका सुदूरपश्चिमेलीहरूको सामाजिक, सांस्कृतिक र बौद्धिक एकतालाई सुदृढ बनाउने, नयाँ पुस्तालाई मौलिक पहिचानसँग जोड्ने तथा सुदूरपश्चिमका स्रष्टा र प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउने कार्यक्रम अघि बढाइने उल्लेख गरे।

कार्यक्रममा साहित्यिक गतिविधिलाई विशेष महत्व दिँदै डा. हरिदत्त पाण्डेयद्वारा लिखित “सेतीलाकालीका छाल” र “मित्यारी” कृतिहरूको लोकार्पण गरिएको थियो। “सेतीलाकालीका छाल” कृतिमाथि साहित्यकार दामोदर पुडासैनी र “मित्यारी” कृतिमाथि साहित्यकार नरेन्द्र रेग्मीले विवेचना गर्दै कृतिहरूले सुदूरपश्चिमको सामाजिक, सांस्कृतिक र साहित्यिक जीवनलाई सशक्त रूपमा चित्रण गरेको बताए।

साधारण सभाको अवसरमा शिक्षा, साहित्य, समाजसेवा, संस्कृति लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो। समग्रमा, १६औँ साधारण सभाले नेतृत्व चयनसँगै सुदूरपश्चिम समाज काठमाडौंलाई नयाँ ऊर्जा र स्पष्ट दिशातर्फ अघि बढाउने महत्वपूर्ण अवसर प्रदान गरेको समाजले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्