काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन धर्मावलम्बीहरूले विश्वभर क्रिसमस दिवस मनाइरहेका छन्। धार्मिक मान्यताअनुसार आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो।
विश्वका धेरै मुलुकमा उत्सवका रूपमा मनाइने क्रिसमस दिवस नेपालमा भने २०६३ सालपछि महोत्सवका रूपमा मनाउन थालिएको हो। दिवसका अवसरमा २०६३ देखि २०७४ सालसम्म सार्वजनिक बिदा दिइएको थियो। त्यसपछि २०७५ देखि २०७७ सालसम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो भने २०७८ सालदेखि पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ।
पछिल्लो समय क्रिसमसलाई लक्षित गर्दै मुख्य शहरका प्रमुख स्थानहरू क्रिसमस ‘ट्रि’ तथा सजावटले झकिझकाउ बनाइएका छन्। विशेषगरी पर्यटकको आवागमन बढी हुने ठमेल, बौद्ध, पोखरा, सौराहा लगायतका क्षेत्रहरूमा क्रिसमसको रौनक बढी देखिन्छ।
क्रिसमस दिवसको पूर्वसन्ध्यामा गएराति काठमाडौँ, ललितपुरसहितका विभिन्न शहरका सपिङ मल तथा सार्वजनिक स्थलहरूमा सांस्कृतिक कार्यक्रम, गीत–संगीत र विविध मनोरञ्जनात्मक गतिविधि आयोजना गरिएको थियो। उत्सवले शहरहरूमा उल्लासमय वातावरण सिर्जना गरेको छ।






