काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह भोलि (बिहीबार) त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुँदैछ। परीक्षा नियन्त्रण कार्यालय, बल्खुका प्रवक्ता कविराज पौडेलका अनुसार दीक्षान्त समारोहका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। “तयारी पूरा भएको छ, अब भोलि समारोह आयोजना हुनेछ,” उनले बताए।
त्रिभुवन विश्वविद्यालयका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि (पीएचडी) तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ पुगेको छ।
तीमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन औपचारिक रूपमा आवेदन दिएका छन्। आवेदन दिने विद्यार्थीहरूमध्ये स्नातक तहका ११ हजार २३४ जना, अधिस्नातक तहका १४ जना, स्नातकोत्तर तहका ४ हजार ८६० जना, दर्शनाचार्य तहका १२० जना तथा विद्यावारिधि तहका १५२ जना रहेका छन्।
यसैगरी, २३ हजार ९८० जना अभिभावक तथा संरक्षकले पनि समारोहमा सहभागी हुन आवेदन दिएका छन्। एक जना विद्यार्थीका दुई जना अभिभावकलाई सहभागिताको व्यवस्था गरिएको छ। यस आधारमा रंगशालामा विद्यार्थी र अभिभावक गरी करिब ५० हजार जनाको उपस्थिति रहने त्रिभुवन विश्वविद्यालयको अनुमान छ।
दीक्षान्त समारोहको अवसरमा करिब २५ वटा दीक्षान्त पदक तथा पुरस्कार वितरण गरिनेछ। समारोहको विशेष आकर्षणका रूपमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ।
त्रिविको दीक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता सहभागी हुन लागेकाले यसले विश्वविद्यालयको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा, विश्वस्तरीय पहुँच तथा शैक्षिक उत्कृष्टतालाई उजागर गर्ने विश्वास विश्वविद्यालयको छ।
समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछिन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सह–कुलपति महावीर पुन विशेष अतिथिका रूपमा सहभागी हुनेछन्। यस्तै, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक आर्यालको पनि विशेष आतिथ्यता रहनेछ।






