काठमाडौँ – काठमाडौँ महानगरपालिका क्षेत्रभित्र १०७ वटा विद्यालय भौतिक रूपमा सञ्चालनमा नरहेको पाइएको छ। महानगरपालिकाको नगर शिक्षा समितिले गत साउन २८ गते गरेको निर्णयअनुसार गरिएको अनुगमनका क्रममा विगतमा अनुमति पाएर पनि हाल स्थलगत रूपमा सञ्चालनमा नरहेका विद्यालय फेला परेका हुन्।
महानगरपालिकाले यस्ता विद्यालयलाई १५ दिनभित्र शिक्षा विभागमा सम्पर्क गर्न अल्टिमेटम दिएको छ। शिक्षा विभागले आइतबार एक सूचना जारी गर्दै सञ्चालनमा नरहेका विद्यालयका प्रधानाध्यापक, सञ्चालक, व्यवस्थापक वा गुठीयारलाई सम्पर्कमा आउन निर्देशन दिएको हो।
महानगरका अनुसार तोकिएको समयभित्र विद्यालय सञ्चालनमा रहेको पुष्टि हुन नसकेमा अनुमति खारेजी प्रक्रिया अगाडि बढाइने छ। विभागले विद्यालय बन्द गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउन महानगर कार्यपालिकामा सिफारिस गरिने जनाएको छ।
महानगरपालिकाले सार्वजनिक गरेको सूचीअनुसार अनुमति पाएर पनि लामो समयदेखि सञ्चालनमा नरहेका विद्यालयले शिक्षा क्षेत्रलाई अव्यवस्थित बनाउँदै आएको ठहर गरिएको छ। पछिल्लो समय महानगरले अनधिकृत तथा नाम मात्रका विद्यालय हटाई शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने अभियानलाई तीव्रता दिएको जनाएको छ।






