काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दायर गरेको १० अर्ब डलर क्षतिपूर्तिको मुद्दा बीबीसीले अदालतमा सामना गर्ने भएको छ। बीबीसीले उक्त मुद्दामा सम्झौता नगरी कानुनी लडाइँ लड्ने स्पष्ट निर्णय गरेको र आफ्नो पत्रकारिता तथा प्रेस स्वतन्त्रताको रक्षा गर्ने जनाएको छ।
यसअघि राष्ट्रपति ट्रम्पले बीबीसीले जानाजानी आफ्नो छविमा क्षति पुर्याएको आरोप लगाउँदै मुद्दा दायर गर्नुभएको थियो। सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि बीबीसीको प्रमुख समसामयिक कार्यक्रम ‘प्यानोरामा’ मा प्रसारण गरिएको वृत्तचित्रलाई आधार बनाएर ट्रम्पले आपत्ति जनाउनुभएको हो।
उक्त वृत्तचित्रमा ट्रम्पका भाषणका दुई फरक–फरक अंशलाई एकैसाथ जोडेर प्रस्तुत गरिएको भन्दै त्यसले उहाँले आफ्ना समर्थकहरूलाई क्यापिटलमा आक्रमण गर्न प्रत्यक्ष रूपमा उक्साएको जस्तो देखाउने प्रयास गरिएको आरोप लगाइएको छ।
तर बीबीसीले उक्त वृत्तचित्र अमेरिका भित्र प्रसारण नभएको, विवादित १२ सेकेन्डको क्लिपमा त्रुटि रहेको र त्यसले अमेरिकी दर्शकमा ठोस प्रभाव पारेको प्रमाण कमजोर रहेको दाबी गरेको छ। बीबीसीका अनुसार प्रस्तुत सामग्रीले जानाजानी भ्रम सिर्जना गर्ने उद्देश्य राखेको थिएन।
कानुनी लडाइँमा ५० देखि १०० मिलियन डलरसम्म खर्च हुन सक्ने अनुमान गरिए पनि बीबीसीले सम्झौता भन्दा अदालतमार्फत स्पष्टता खोज्ने संकेत दिएको छ। यस कदमले बीबीसीको विश्वसनीयता, ब्रान्ड र प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता अझ बलियो सन्देश दिने उसको तर्क रहेको छ।







