लुम्बिनी विकास परिषद्को सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठ नियुक्त

काठमाडौँ – सरकारले लुम्बिनी विकास कोष तथा लुम्बिनी विकास परिषद्को सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

बैठकले बङ्गलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल–बङ्गलादेश उर्जा सहकार्यसम्बन्धी संयुक्त कार्यसमूह तथा संयुक्त सञ्चालक समितिको सातौँ बैठकमा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ।

त्यसैगरी, नयाँ सम्झौताअनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विद्युतीय राहदानी भेरिएसन आदेशमार्फत हालकै आपूर्तिकर्ताबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति दिने निर्णय भएको मन्त्री खरेलले बताए।

बैठकले नेपाली सेनामा एक जना महासेनानीलाई सहायक रथी र एक जना सहायक रथीलाई उपरथी दर्जामा विशेष बढुवा गर्ने निर्णय पनि गरेको छ। साथै, उपभोक्ता अदालत तथा बाल अदालतको संगठन संरचना र दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ। मंसिर ८ देखि १२ गतेसम्म चीनको सिजाङ (तिब्बत) स्वायत्त प्रदेशस्थित ल्हासामा आयोजना हुने महिला सेमिनार मा सहभागिका लागि आदिवासी जनजाति आयोगकी सदस्य रिना रानालाई स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्