प्रवासी नेपालीका समस्या र सुझावसहित ज्ञापनपत्र दिल्लीस्थित नेपाली दूतावासमा बुझाइयो

काठमाडौँ –

भारतको हैदराबादमा बसोबास गर्दै आएका समाजसेवी विनोद विष्टले प्रवासी नेपालीहरूले भारतमा भोगिरहेका समस्या, चुनौती र समाधानका सुझावसहितको विस्तृत ज्ञापनपत्र नयाँ दिल्लीस्थित नेपाल राजदूतावासमा बुझाएका छन्। उक्त ज्ञापनपत्र दूतावासका कार्यवाहक राजदूत (डीसीएम) सुरेन्द्र थापाले औपचारिक रूपमा ग्रहण गर्नुभएको हो। बैतडी स्थायी घर भई हाल हैदराबादमा रहेका विष्ट लामो समयदेखि प्रवासी नेपालीबीच एकता र सहयोगका कार्यमा सक्रिय रहँदै आएका छन्।

विष्टले भारतमा रहेका लाखौँ नेपालीहरूको आवाज सरकारसम्म पुगोस् भन्ने उद्देश्यले यो पहल गरेका हुन्। उनले ग्लोबल गोरखा टाइम्ससँग कुरा गर्दै कानुनी पहिचान नहुँदा प्रवासी नेपालीहरू रोजगारी, बैंक खाता, उपचार र आवासमा कठिनाइ झेलिरहेका बताए। ज्ञापनपत्रमा आधार कार्ड नहुँदा रोजगारीमा समस्या, तलबमा अन्याय, सामाजिक सुरक्षाको अभाव, असंगठित क्षेत्रमा काम गर्ने नेपालीहरूको श्रम शोषण तथा केही आपराधिक गतिविधिका कारण नेपाली समुदायको छविमा परेको असरजस्ता समस्या उल्लेख छन्।

विष्टले नेपाली नागरिकताको प्रमाणपत्रलाई भारतमा नेपाली नागरिकको आधिकारिक पहिचानको रूपमा मान्यता दिलाउने, नेपालीहरूले आधार कार्ड लिन सक्ने कानुनी प्रावधानबारे स्पष्ट जानकारी सार्वजनिक गर्ने, प्रमुख सहरहरूमा ‘नेपाली हेल्प डेस्क’ स्थापना गर्ने, नेपाल–भारत सीमामा आवागमनको पहिचान प्रणाली सुदृढ गर्ने लगायतका सुझाव दिएका छन्।

ज्ञापनपत्र ग्रहण गर्दै कार्यवाहक राजदूत सुरेन्द्र थापाले प्रवासी नेपालीहरूको हकहित र सुरक्षाप्रति दूतावास सधैं संवेदनशील रहेको र समस्या समाधानका लागि आवश्यक पहल गर्ने विश्वास दिलाउनुभयो। विष्टले यो केवल व्यक्तिगत पहल नभई लाखौँ प्रवासी नेपालीहरूको सामूहिक आवाज भएको बताउँदै सबैलाई आफ्नो अधिकार र पहिचान सुरक्षित गर्न एकजुट हुन आग्रह गरेका छन्। हैदराबादमा रहेका नेपाली समुदायले विष्टको यो पहललाई स्वागत गर्दै धन्यवाद व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्