भक्तपुर – नेकपा (एमाले) ले आज बिहीबार भक्तपुरको गुण्डुमा कार्यकर्ता भेला आयोजना गरेको छ। एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको उक्त भेला बिहान ११ बजे सूर्यविनायक नगरपालिका–७ स्थित वडा कार्यालयनजिकै सुरु हुने भएको हो। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्।
आयोजकका अनुसार कार्यक्रममा अध्यक्ष ओलीसँगै पार्टीका अन्य शीर्ष नेताहरूको पनि उपस्थिति रहनेछ। एमालेले पछिल्लो राजनीतिक परिस्थिति र जेन–जी आन्दोलनका सन्दर्भमा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै कार्यकर्ता भेला आयोजना गरेको जनाएको छ। यसैबीच, जेन–जी प्रदर्शनकारीको एउटा समूहले पनि आजै माइतीघर मण्डलामा प्रदर्शन गर्ने योजना बनाएको थियो। जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर तयारी पूरा गरे पनि गृह मन्त्रालयले उक्त कार्यक्रम नगर्न निर्देशन दिएपछि प्रदर्शन स्थगित गरिएको छ। सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा असोज २३ का लागि व्यापक प्रचार–प्रसार भइरहेकाले भदौ २४ जस्तै घटनाको पुनरावृत्ति हुन सक्ने आशङ्कामा एमालेले कार्यकर्ता तयारी गरेको स्रोतहरूले जनाएका छन्।
एमालेका एक नेताका अनुसार, पछिल्लो समय विभिन्न नेताहरूको निवासलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अभिव्यक्तिहरू देखिन थालेपछि सुरक्षात्मक दृष्टिले पनि भेला आयोजना गरिएको हो। अध्यक्ष ओली हाल सूर्यविनायक–७, गुण्डुमा डेरा गरी बसिरहेका छन्। भदौ २४ गते भक्तपुर बालकोटस्थित उनको निवासमा आगजनी भएपछि उनी त्यता सरेका हुन्। त्यतिबेलादेखि उनले अधिकांश राजनीतिक गतिविधि गुण्डुबाटै सञ्चालन गर्दै आएका छन्।
एमालेले आउँदो शुक्रबार र शनिबार सचिवालय बैठक बोलाएको छ भने आगामी असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक समेत बस्ने तयारी गरेको छ। बैठकअघि ओलीले प्रदेश इन्चार्ज, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरूसँग भर्चुअल बैठकमार्फत् धारणा आदानप्रदान गरिसकेका छन्। आजको भेलामा पनि अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्था, पार्टीको रणनीति तथा आगामी कदमबारे विस्तृत धारणा राख्ने अपेक्षा गरिएको छ।






