अमेरिकामा विद्यार्थी भिसा जारीदरमा तीव्र गिरावट, भारतबाट जाने विद्यार्थीमा ४५ प्रतिशत कमी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा विद्यार्थी भिसा नीतिमा देखिएको कडाइका कारण संयुक्त राज्य अमेरिकाले सन् २०२५ को अगस्ट महिनामा अघिल्लो वर्षको तुलनामा करिब १९.१ प्रतिशत कम विद्यार्थी भिसा जारी गरेको छ। अन्तर्राष्ट्रिय व्यापार प्रशासनका अनुसार अमेरिकाले उक्त महिनामा तीन लाख १३ हजार १३८ विद्यार्थी भिसा जारी गरेको हो, जुन अघिल्लो वर्षको तुलनामा करिब पाँच भागको एक भाग कम हो।

अमेरिकी विश्वविद्यालयहरूले प्रायः अगस्ट महिनामै सबैभन्दा बढी विद्यार्थी भिसा स्वीकृत गर्ने गर्छन्। तर यसपटक भिसा स्वीकृत दरमा उल्लेख्य गिरावट आएको छ। विदेशी विद्यार्थीहरूको प्रमुख स्रोत देश भारतमा यसले सबैभन्दा ठूलो प्रभाव पारेको छ। अघिल्लो वर्षको तुलनामा भारतबाट अमेरिका अध्ययनका लागि जाने विद्यार्थीको संख्या ४४.५ प्रतिशतले घटेको छ।

यस्तै, चिनियाँ विद्यार्थीहरूका लागि भिसा जारी गर्ने दर पनि घटेको छ, तर त्यति ठूलो मात्रामा होइन। अमेरिकी सरकारले अगस्टमा मुख्य भूमि चीनका विद्यार्थीका लागि ८६ हजार ६४७ भिसा जारी गरेको छ, जुन भारतीय विद्यार्थीहरूलाई जारी गरिएको संख्याको दोब्बरभन्दा बढी हो। यी तथ्यांकहरूले अमेरिकामा अध्ययनरत कुल अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या भने देखाउँदैनन्, किनभने धेरै विद्यार्थीहरू पहिले नै जारी गरिएको भिसामा अध्ययनरत छन्।

ह्वाइट हाउसमा पुनः फर्किएपछि राष्ट्रपति ट्रम्पले आप्रवासन नियन्त्रण र विश्वविद्यालयहरूमा नियन्त्रण कडा गर्ने नीति अगाडि बढाएका छन्। उनको प्रशासनले विश्वविद्यालयहरूलाई वामपन्थीहरूको शक्ति आधारका रूपमा हेर्ने गरेको आरोप पनि लगाइएको छ। यही नीतिअन्तर्गत अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत जुन महिनामा केही समयका लागि विद्यार्थी भिसा प्रक्रिया स्थगित गरेका थिए। उनले अमेरिकी विदेश नीतिविरुद्ध जाने र विशेषगरी इजरायलको आलोचना गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूको भिसा रद्द गरेका थिए।

यससँगै, ट्रम्प प्रशासनले भारतीय प्रविधि कामदारहरूले प्रयोग गर्ने एच–१ बी भिसामा पनि नयाँ शुल्क थपेको छ। यद्यपि चिनियाँ विद्यार्थीहरूको भिसा कटौती गर्ने नीति लिँदै आएका रुबियोको प्रतिबद्धताका बाबजुद राष्ट्रपति ट्रम्पले दुई देशबीचको सम्बन्ध सुधार गर्न चिनियाँ विद्यार्थीहरूको संख्या बढाउने आशा व्यक्त गरेका छन्।

पछिल्ला तथ्यांकले मुस्लिम बहुल देशहरूबाट विद्यार्थी भिसामा पनि उल्लेख्य गिरावट देखाएको छ। विशेष गरी इरानबाट अमेरिका अध्ययनका लागि जाने विद्यार्थीको संख्या अघिल्लो वर्षको तुलनामा ८६ प्रतिशतले घटेको रिपोर्ट गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्