दसैंतिहारमा पनि उत्तरी नाकाबाट सामान भित्रन सकेन, व्यवसायी चिन्तित

File Photo

सिन्धुपाल्चोक – दसैं दैलोमै पुगे पनि उत्तरी नाका तातोपानी हुँदै नेपाल भित्रनुपर्ने दसैं–तिहार लक्षित सामान समयमा आयात नहुँदा व्यापारी चिन्तित बनेका छन्। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतका अनुसार चीनले विभिन्न बहाना देखाउँदै न्यून संख्यामा मात्र कन्टेनर छाड्न थालेपछि आजित अवस्था सिर्जना भएको हो। उनका अनुसार चीनको न्यालम, खासा र लिपिङ पारी झाङ्मु बजारमा झन्डै एक हजार कन्टेनर अड्किएका छन्।

“यसअघि दैनिक १८ देखि २५ कन्टेनर छाड्थ्यो भने अहिले दसैंको मुखमा ६ देखि १० कन्टेनर मात्र छाड्दा व्यापारीहरू तनावमा परेका छन्,” बस्नेतले भने। चीनले पार्किङ समस्या र मालवाहक रुट प्रोटोकलजस्ता कारण देखाउँदै केही दिनयता कन्टेनर छाड्न ढिलाइ गरेको व्यवसायीहरूको आरोप छ।

यसअघि कोदारी राजमार्गको इको क्षेत्रमा भदौ ४ देखि ७ सम्म लगातार चार दिन पहिरो खसेपछि सडक लामो समय अवरुद्ध भएको थियो। पछि सडक खुल्दा केही दिन सामान आयात भए पनि फेरि सहज आपूर्ति हुन सकेको छैन। हाल चीनको ल्हासा, सिगात्से र न्यालममा पाँच सयभन्दा बढी कन्टेनर महँगो गोदाम पार्किङमै रोकिएका छन् भने केरुङमा झण्डै चार सय कन्टेनर अड्किएका छन्।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका अनुसार साउन १७ मा भन्सार यार्डमा प्रवेश गरेका फलफूलका अधिकांश कन्टेनर लामो समय अड्किँदा कुहिन पुगेका थिए। व्यापारी शारदाप्रसाद पराजुलीका अनुसार उनका मात्र पाँच कन्टेनरमा रहेको आँप र ड्रागन फ्रुट कुहिएर नोक्सानी भएको छ।

व्यवसायीहरूले दशैं–तिहार जस्ता ठूला पर्वको समयमा सामान भित्रन नसक्दा उपभोक्ता आपूर्ति र मूल्यवृद्धिको जोखिम बढ्ने चेतावनी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्