काठमाडौं – अमेरिकाले ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई–डीभी) आवेदन दर्ताका लागि अब एक डलर शुल्क लिन थालेको छ। यसअघि आवेदन निःशुल्क थियो। अमेरिकी विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ कि नयाँ शुल्क धोकाधडी घटाउने र प्रशासनिक खर्च सबै आवेदकमा वितरण गर्ने उद्देश्यले तोकिएको हो।
यो नियम यस वर्षको अक्टोबरदेखि खुल्ने आवेदनमा लागू हुनेछ। डीभी परिसकेपछि तिर्नुपर्ने भिसा शुल्क ३३० डलर भने यथावत् रहनेछ। शुल्क आधिकारिक सरकारी पोर्टलमार्फत मात्र तिर्न सकिने र तिरेपछि फिर्ता नहुने उल्लेख गरिएको छ।
धेरै नेपालीसँग डलर कार्ड नहुँदा आवेदन प्रक्रियामा केही कठिनाइ हुन सक्ने भए पनि बैंक र वित्तीय संस्थामार्फत शुल्क तिरेर आवेदन दिन सकिने जानकारहरूले बताएका छन्।
यो कार्यक्रमअन्तर्गत हरेक वर्ष लगभग ५० हजार आप्रवासीलाई अमेरिकाले स्थायी बसोबासको अनुमति दिन्छ। अमेरिकी तथ्याङ्कअनुसार नेपालबाट वार्षिक रूपमा चार लाखदेखि सात लाखसम्मले आवेदन दिने गरेका छन् भने साढे तीन हजारदेखि चार हजारसम्मले मात्र स्थायी बसोबास पाउने गरेका छन्। प्रति आवेदन एक डलर शुल्कले अमेरिकालाई वार्षिक रूपमा झन्डै साढे दुई करोड डलर राजश्व जुटाउन सक्ने अनुमान गरिएको छ।






