काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना र भ्रष्टीकृत भइसकेका दलहरुलाई फेरि टाउको उठाउन नदिनुपर्ने बताएका छन्।
नयाँ शक्ति (नेसपा) को अध्यक्षबाट राजीनामा दिएपछि मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने आवश्यकता औंल्याए। भट्टराईले भने, “भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु–परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न। नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ।” उनले पुराना र थोत्रा पार्टीहरू सुधारिने सम्भावना नरहेको प्रष्ट पार्दै त्यस्ता दलभित्रैका नेताहरूले विद्रोह गरेर नयाँ राजनीतिक विकल्पमा जोडिनुपर्ने सुझाव दिए।
यस क्रममा उनले हालको जेनजी विद्रोहलाई नेपालको मौलिक र जायज आन्दोलनको रूपमा व्याख्या गरे। तर, आन्दोलनका क्रममा परिवर्तन नचाहने शक्तिहरू र बाह्य शक्तिहरूले चलखेल गर्न खोजेको भन्दै सतर्क रहनुपर्ने चेतावनी पनि दिए।






