काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्देशन दिएसँगै इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान)ले आदेश कार्यान्वयनका लागि भोलिसम्म समय लाग्ने जनाएको छ।
आईएसपानका अध्यक्ष सुधीर पराजुलीले प्राधिकरणको निर्देशनलाई पूर्णरूपमा कार्यान्वयन गर्न केही प्राविधिक तयारी आवश्यक पर्ने भएकाले भोलिसम्म समय लाग्ने बताए। उनले सामाजिक सञ्जाललाई पूर्णरूपमा बन्द गर्नु दीर्घकालीन समाधान नभएकाले सरकारलाई नियमन गर्ने वैकल्पिक उपाय अपनाउन सुझाव दिइएको पनि बताए।
यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले सर्वोच्च अदालतको आदेश, मन्त्रिपरिषद्को भदौ ५ गतेको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठक र सामाजिक सञ्जाल प्रयोग व्यवस्थापन निर्देशिका, २०८० का आधारमा २६ वटा सामाजिक सञ्जाल बन्द गर्न आईएसपानलाई निर्देशन दिएको थियो।
सरकारले बन्द गर्ने सूचीमा फेसबुक, फेसबुक मेसेंजर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा, टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो रहेका छन्।






